

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षबीच खुला संवाद र साझा बैठक आवश्यक रहेको निष्कर्ष निकालेको छ।
काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार बसेको संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता डा. प्रकाशशरण महतले सबैभन्दा पहिले एकै ठाउँमा बसेर छलफल गर्नुपर्नेमा जोड दिए।
उनले दुवै पक्षले आफ्ना-आफ्ना प्रस्ताव खुला रूपमा राखेर सहमतिको आधार खोज्नुपर्ने धारणा व्यक्त गरे।
“उहाँहरूको पनि जे प्रस्ताव छ, त्यो ल्याउनुस्। हामी पनि हाम्रो प्रस्ताव राख्छौँ। पहिले एक ठाउँमा बसेर छलफल गरौँ, त्यसपछि सहमति बन्छ कि बन्दैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ,” महतले भने।
उनले केही नेताले बैठकमा सहमतिका कुरा गर्ने तर बाहिर निस्किएपछि फरक अभिव्यक्ति दिने प्रवृत्तिले पार्टीभित्रको समस्या झन् जटिल बनेको टिप्पणी गरे।
“हामीसँग बस्दा सबै मिलेको भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ। यस्तो गर्नु हुँदैन,” उनले भने।
डा. महतले सम्मानजनक एकता कायम गर्न दुवै पक्षले इमानदार र सकारात्मक मनसायका साथ संवादमा आउनुपर्ने उल्लेख गर्दै साँचो इच्छाशक्ति भए पार्टीभित्रको विवाद समाधान सम्भव रहेको बताए।
उनले संस्थापन पक्ष भने पार्टीभित्र मेलमिलाप र सहमतिका विषयमा अपेक्षाअनुसार गम्भीर नदेखिएको आरोप पनि लगाए। यद्यपि संवादको ढोका खुला राखेर अघि बढ्नुपर्नेमा संस्थापन इतर पक्षको जोड रहेको उनले स्पष्ट पारे।