

काठमाडौं । आज जुन २६ का दिन विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। समाजमा लागुऔषध दुरुपयोगले पारिरहेको गम्भीर प्रभावबारे जनचेतना फैलाउने र यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
राष्ट्रसङ्घको महासभाले सन् १९८७ को डिसेम्बर ७ मा प्रस्ताव पारित गरेपछि हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन थालिएको हो। लागुऔषधमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सहकार्य र साझा प्रयासलाई बलियो बनाउने सन्देशका साथ यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषधको प्रयोग र अवैध कारोबार दुवै बढ्दो क्रममा छन्। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ।
यसैगरी, कम लागतमा उत्पादन गर्न सकिने र पहिचान गर्न कठिन हुने कृत्रिम (सिन्थेटिक) लागुऔषधको अवैध उत्पादन तथा तस्करी पनि तीव्र रूपमा विस्तार भइरहेको राष्ट्रसङ्घले जनाएको छ। विशेषज्ञहरूले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना, उपचार तथा पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।