

कार्यालय उद्घाटनलगत्तै सोही स्थानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक पनि बसेको थियो। बैठकमा पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले आगामी दिनमा नेपाली कांग्रेसलाई पुनः मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको बताए।

उनले विगतमा कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति रहे पनि पछिल्लो समय केही कमजोर बनेको स्वीकार गर्दै अब संगठनलाई पुनः मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
‘नेपाली कांग्रेसलाई आगामी दिनमा अझ सशक्त, एकताबद्ध र संगठित बनाउँदै लैजानुपर्छ। विगतमा कांग्रेस मुलुकको पहिलो पार्टी थियो। अहिले केही खस्किएका छौँ, तर भोलिका दिनमा फेरि ठूलो पार्टीका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता छ,’ विश्वकर्माले भने।
उनले पार्टीभित्रको एकता, संगठन विस्तार र कार्यकर्ताबीचको समन्वयलाई सुदृढ बनाउन सम्पर्क कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
संस्थापन इतर पक्षले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएसँगै कांग्रेसभित्र आगामी रणनीति, संगठन विस्तार तथा भावी राजनीतिक कार्यदिशाबारे गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।