

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र प्रतिस्पर्धी बनाउन सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने योजना अघि बढाएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताए।
उनले हुलाक सेवालाई पनि सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाले सरकारले हुलाक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस दिशामा उल्लेखनीय प्रगति भएको दाबी गरे। तर, हुलाक सेवालाई समयानुकूल बनाउन नीतिगत तथा संस्थागत पुनर्संरचना अपरिहार्य रहेको उनको भनाइ थियो।
‘हुलाकसँग सम्बन्धित नीतिगत सुधार आवश्यक छ। यसको संरचनामा पनि व्यापक सुधार गर्नुपर्ने अवस्था छ। विद्यमान निकायहरूको कार्यक्षमता बढाउनुपर्छ। धेरै काम गर्न बाँकी छन्,’ उनले भने, ‘केही सुधारका काम सुरु भइसकेका छन् र अब के–कस्ता सुधार आवश्यक छन् भन्ने विषय पनि पहिचान भइसकेको छ।’
उनले हुलाक सेवाको आधुनिकीकरणलाई तीव्रता दिँदै यसलाई नागरिकले गर्व गर्न सक्ने संस्थाका रूपमा विकास गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशनसमेत दिए।