शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : भीष्मराज आङदेम्बे

शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : भीष्मराज आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताको संकेत भएको बताएका छन्।

मंगलबार ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्थामाथि अनावश्यक प्रश्न उठाउनु उचित नहुने बताए।

उनले नेतृत्वकै अकर्मण्यता, अपरिपक्व सोच र कमजोरीका कारण शासकीय प्रणालीलाई दोष दिने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।

‘हामी फेरि त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने दिशातर्फ फर्किएको अनुभूति गरिरहेका छौँ। यो राम्रो संकेत होइन,’ उनले भने, ‘आफ्नो अकर्मण्यता, सोचको अपरिपक्वता र कमजोरीको दोष शासकीय स्वरूपमाथि थोपर्न थालिएको छ। त्यसलाई पर्याप्त रूपमा अभ्यास नै नगरी प्रश्न उठाउनु उपयुक्त हुँदैन।’

आङदेम्बेले सात प्रदेश र तीन तहको सरकारसहितको संघीय शासन व्यवस्था नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै यसलाई कुनै आवेग, लहर वा क्षणिक उत्तेजनाको आधारमा कमजोर पार्न नहुने बताए।

‘हामीले परिकल्पना गरेको सात प्रदेश र तीन तहको सरकारको संरचनाले जनतालाई वास्तविक अनुभूति दिलाउने दिशामा काम गर्नुपर्छ। यस व्यवस्थालाई कुनै लहर, आवेग वा उत्तेजनाले प्रभावित पार्नु हुँदैन,’ उनले भने।

वर्तमान शासन व्यवस्था ऐतिहासिक निष्कर्षका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले यसप्रति संशय सिर्जना गर्ने वा अनिर्णयको बन्दी बनाउने प्रयास गलत हुने धारणा राखे।

‘जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक उपलब्धिलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन। यसमाथि अनावश्यक प्रश्नचिह्न उठाउनु उचित हुँदैन,’ उनले स्पष्ट पारे।

संसद् दिवसलाई केवल औपचारिक समारोहका रूपमा सीमित नराखी लोकतान्त्रिक मूल्य, संविधान र जनताप्रतिको जिम्मेवारीलाई थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।