‘नेतृत्व छोड भन्न आवश्यक छैन, पार्टी पुनर्गठनको तयारीमा छौँ’ : प्रचण्ड

‘नेतृत्व छोड भन्न आवश्यक छैन, पार्टी पुनर्गठनको तयारीमा छौँ’ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व परिवर्तनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गर्दै पार्टी पुनर्गठनको तयारी भइरहेको बताएका छन्।

सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वलाई ‘अहिले छोड, भोलि छोड’ भन्न आवश्यक नरहेको स्पष्ट पारे। पार्टीभित्र कोही पनि भावनामा बगेर वा उत्तेजित भएर नेतृत्वविरुद्ध नबोल्न उनले आग्रह गरे।

प्रचण्डले पार्टीमा नयाँ नेतृत्व स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउँदै युवालाई ५० प्रतिशत जिम्मेवारी दिने घोषणा त्यसै नभएको बताए। पार्टी पुनर्गठनका लागि नयाँ ढाँचामा काम भइरहेको उल्लेख गर्दै उनले केन्द्रीय सदस्यहरूलाई पनि सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।

‘हामी आफैँ पार्टी पुनर्गठनको कुरा गरिरहेका छौँ। त्यसैले अनावश्यक उत्तेजित हुनुपर्ने अवस्था छैन,’ उनले भने।

उनले पुस्तान्तरणको प्रक्रिया स्वाभाविक र द्वन्द्ववादी विकासक्रमको हिस्सा भएको उल्लेख गर्दै यसलाई दुई पुस्ताबीचको संघर्षका रूपमा व्याख्या गर्नु गलत हुने बताए। यस्तो धारणा साम्राज्यवादी सोचबाट प्रभावित भएको उनको भनाइ थियो।

बैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि पार्टी एकीकरणका बाँकी सबै काम असारभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले केवल गफ र हल्लाले काम नचल्ने भन्दै व्यवहारिक रूपमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरे।

नेपालले विभिन्न दल एकीकृत हुँदा केही असन्तुष्टि देखिनु स्वाभाविक भए पनि समाधान नहुने खालका समस्या नरहेको उल्लेख गर्दै नयाँ उचाइमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।