रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, दुई केन्द्रीय सदस्यको नाम हेरफेर

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, दुई केन्द्रीय सदस्यको नाम हेरफेर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरूको सूची संशोधन गरेको छ। मतपरिणाम र क्लस्टर व्यवस्थापनसम्बन्धी गुनासोपछि केन्द्रीय निर्वाचन आयोगले सूची सच्याउँदै दुई सदस्यको नाम परिवर्तन गरेको हो।

भुवन केसी अध्यक्ष रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनको अन्तिम नतिजा पुनः अध्ययन गरी नयाँ निर्णय सार्वजनिक गरेको हो।

निर्वाचनपछि केही उम्मेदवारले आफूले बढी मत प्राप्त गरे पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित हुन नपाएको भन्दै आयोगमा गुनासो गरेका थिए। त्यसपछि आयोगले मतपरिणाम र उम्मेदवारीसँग सम्बन्धित कागजातको पुनः परीक्षण गरेको जनाएको छ।

संशोधित निर्णयअनुसार कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको छ। उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको छ।

निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषणा गरिएको भए पनि मतपरिणाम र उम्मेदवारी दर्ताका क्रममा पेश भएका कागजातको अध्ययनपछि ध्रुवकुमार थापामगर नै निर्वाचित हुनुपर्ने देखिएको निष्कर्ष निकालिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक (भूगोल) क्लस्टरको मतपरिणाम पुनः परीक्षण गर्दा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा त्रुटिवश सोम शर्माको नाम समावेश भएको पाइएको आयोगले जनाएको छ।

यससँगै आयोगले ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएको औपचारिक निर्णय गरेको छ।