

काठमाडौं । आज शनिबार काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षासम्म हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान उपत्यकाको आकाश बादलले ढाकिएको छ भने केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। तत्काल भारी वर्षाको सम्भावना नरहे पनि दिउँसोपछि मौसम थप सक्रिय हुने अनुमान गरिएको छ।
उनका अनुसार बिहानपछि केही समय घाम लाग्न सक्ने भए पनि मध्याह्नपछि पुनः बादल विकसित भई उपत्यकाका विभिन्न स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ।
हाल काठमाडौं उपत्यकाको मौसममा पश्चिमी वायुको प्रभाव प्रमुख रहेको छ भने पूर्वी वायुको पनि आंशिक प्रभाव देखिएको मौसमविद् ढकालले बताए। पूर्वी वायु मनसुनी प्रणालीसँग सम्बन्धित भए पनि काठमाडौं उपत्यकामा अझै मनसुन प्रवेश भएको घोषणा गर्न मिल्ने अवस्था नपुगेको उनको भनाइ छ। उनले गण्डकी प्रदेशसम्म पूर्वी वायुको प्रभाव देखिए पनि मनसुन घोषणा गर्न आवश्यक सबै मापदण्ड पूरा भइनसकेको स्पष्ट पारे।
यसैबीच, कोशी प्रदेशका केही क्षेत्रमा भने असार ५ गते (जुन १९) देखि मनसुन प्रवेश गरिसकेको छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन करिब ६ दिन ढिला गरी पूर्वी नाकाबाट प्रवेश गरेको हो। मौसमविद्का अनुसार मनसुन अब क्रमशः पूर्वबाट पश्चिमतर्फ फैलिनेछ र देशभर फैलिन अझ केही दिन लाग्ने अनुमान गरिएको छ।