

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएको जनाएको हो। संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण दर्शकको स्वास्थ्य सुरक्षाका लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको चिडियाखानाले जनाएको छ।
जारी सूचनामा आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द रहने उल्लेख गरिएको छ। चिडियाखानाले संक्रमण नियन्त्रण, निगरानी तथा आवश्यक स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरू अपनाइएको जनाएको छ। साथै परिस्थितिको मूल्याङ्कनपछि पुनः सञ्चालनबारे निर्णय गरिने जानकारी दिइएको छ। चिडियाखानाले दर्शक तथा सरोकारवाला सबैलाई सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।
