धान रोपाइँ लक्षित गर्दै मधेसमा रासायनिक मल वितरण, १३६ स्थानीय तहमा बाँडफाँट

धान रोपाइँ लक्षित गर्दै मधेसमा रासायनिक मल वितरण, १३६ स्थानीय तहमा बाँडफाँट

जनकपुरधाम । मधेस प्रदेश सरकारले वर्षे धानबालीको रोपाइँलाई लक्षित गर्दै प्रदेशका सबै स्थानीय तहमा रासायनिक मल वितरणको व्यवस्था गरेको छ। धान रोपाइँ सुरु भइसक्दा पनि मल अभावको गुनासो बढिरहेका बेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित प्रदेश मल समितिले युरिया र डीएपी मल बाँडफाँट गरेको हो।

समितिको जेठ २७ गतेको निर्णयअनुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वितरणका लागि छुट्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता मनीषकुमार पालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडमार्फत युरिया र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा वितरण गरिनेछ।

बाँडफाँटअनुसार सप्तरीका १८ स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डीएपी, सिरहाका स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डीएपी उपलब्ध गराइने भएको छ।

त्यस्तै, धनुषाका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी, तथा महोत्तरीका स्थानीय तहका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ।

यसैगरी सर्लाहीका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी, रौतहटका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी, बाराका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी, तथा पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल वितरण गरिने मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले धान रोपाइँको मुख्य समयमा किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराई उत्पादन वृद्धि तथा कृषि कार्यलाई सहज बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ।