एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : माधवकुमार नेपाल

एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुने विषयमा फैलाइएका हल्ला र अड्कलबाजीमा विश्वास नगर्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे।

समाचार र चर्चामा आएका कतिपय विषयले बुद्धिजीवी वर्गसमेत प्रभावित हुने गरेको उल्लेख गर्दै उनले कुनै पनि विषयमा निष्कर्ष निकाल्नुअघि वस्तुगत परिस्थितिको गम्भीर विश्लेषण आवश्यक रहेको बताए। उनले भने, “यस विषयमा मलाई पटक–पटक फोन आउने गरेका छन्। तर एमालेसँग अहिले पार्टी एकता सम्भव छ भन्ने कुरा यथार्थपरक छैन। त्यसैले कोही पनि भ्रममा पर्नु हुँदैन।”

सहसंयोजक नेपालले आफ्नो पार्टीले अवलम्बन गरेको विचार, सिद्धान्त र राजनीतिक मार्गदर्शनका आधारमा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने नीति लिएको बताए। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी, लोकतान्त्रिक तथा गणतन्त्र पक्षधर शक्तिहरूलाई एउटै मोर्चामा गोलबन्द गर्नु हो।

नेपालले राष्ट्रिय हित, जनताको अधिकार र गणतान्त्रिक व्यवस्थाको संरक्षण आफ्नो पार्टीको प्रमुख दायित्व रहेको दाबी गर्दै सबै लोकतान्त्रिक तथा गणतन्त्र समर्थक शक्तिसँग सहकार्य आवश्यक रहेको बताए। उनले राष्ट्रहित, जनहित तथा गणतन्त्रको रक्षा गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।