

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ गर्ने लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन्। शनिबार सिंहदरबारमा सम्पन्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेका कतिपय कामका विषयमा छलफलसमेत हुन नसकेको बताए।
उनले सरकारले सय दिनभित्र सम्पन्न गर्ने भनेर सार्वजनिक गरेका कार्यक्रममध्ये केही विषय कार्यान्वयन त परको कुरा, आवश्यक छलफलको चरणमै नपुगेको उल्लेख गरे। महामन्त्री पौडेलले भने, “सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो। तर तीमध्ये कतिपय विषयमा त छलफलसमेत भएको छैन। काम सम्पन्न हुनु त धेरै टाढाको विषय हो।”
उनले धेरै कार्यक्रमको सूची सार्वजनिक गर्नुभन्दा सीमित र स्पष्ट लक्ष्य निर्धारण गरेर त्यसलाई पूर्णता दिन सके परिणाम अझ प्रभावकारी हुने धारणा व्यक्त गरे। सरकारका गतिविधिलाई नेपाली कांग्रेसले नजिकबाट नियालिरहेको पनि उनले बताए।
पार्टीको आन्तरिक अवस्था र आगामी १५औँ महाधिवेशनबारे बोल्दै महामन्त्री पौडेलले कांग्रेसभित्र केही असन्तुष्टि देखिएको स्वीकार गरे। यस्ता असन्तुष्टि विगतमा पनि रहने गरेको उल्लेख गर्दै उनले संवाद र छलफलमार्फत समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए।
“पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई समझदारीका साथ समाधान गर्दै हामी अगाडि बढ्छौँ,” उनले भने, “आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता तथा अग्रजहरूको सम्मानजनक सहभागिता सुनिश्चित गरिनेछ।” महामन्त्री पौडेलले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुने वातावरण निर्माण गरिने र कुनै पनि नेता वा कार्यकर्ता अवसरबाट वञ्चित नहुने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी महाधिवेशनलाई सबैको अपनत्व महसुस हुने, समावेशी र उत्साहपूर्ण बनाउन पार्टीका सबै तह सक्रिय रूपमा जुटिरहेका छन्।