हाइटीमाथि ब्राजिलको सहज जित, समूह ‘सी’ को शीर्ष स्थानमा उक्लियो

हाइटीमाथि ब्राजिलको सहज जित, समूह ‘सी’ को शीर्ष स्थानमा उक्लियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै समूह ‘सी’ मा शीर्ष स्थान कब्जा गरेको छ। शनिबार बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले सुरुदेखि नै दबाबपूर्ण प्रदर्शन गर्दै सहज जित हात पारेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे। खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि ३६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३–० को बलियो अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफकै नतिजा अन्तिम बन्यो। खेलभर ब्राजिलले बलमाथि प्रभुत्व जमाएको थियो भने हाइटीले सिर्जना गरेका केही अवसरलाई गोलमा परिणत गर्न सकेन। ब्राजिलका थप दुई गोल भने अफसाइडका कारण मान्यता पाएनन्। यस जितसँगै ब्राजिलले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अंक भए पनि गोलअन्तरका आधारमा मोरक्को दोस्रो स्थानमा रहेको छ।

दुई खेलबाट ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार बेहोरेको हाइटी अंकविहीन रहँदै पुछारमा पुगेको छ। यससँगै हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले हाइटीको सामना गर्नेछ।