गृहमन्त्री गुरुङ भन्छन्- ‘डिजास्टरविरुद्ध प्रतिशोध लिएर आएको छु’

गृहमन्त्री गुरुङ भन्छन्- ‘डिजास्टरविरुद्ध प्रतिशोध लिएर आएको छु’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राख्दै व्यापक पूर्वतयारी गरेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सम्पूर्ण स्रोत–साधन परिचालन गरिने बताए।

गृहमन्त्री गुरुङले विपद्का बेला नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै हेलिकप्टरदेखि सुरक्षा निकायका सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले औपचारिक निरीक्षणभन्दा उद्धार र राहत कार्यलाई प्राथमिकतामा राखेर काम गरिने स्पष्ट पारे।

उनका अनुसार सम्भावित बाढी तथा पहिरोका घटनामा तत्काल प्रतिक्रिया जनाउन विशेष संयन्त्र निर्माण गरिएको छ। विगतका सरकारले गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर थप प्रभावकारी रूपमा विपद् व्यवस्थापन गरिने उनको भनाइ छ।

मनसुनका कारण पूर्व–पश्चिम राजमार्गसहित विभिन्न सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय बढाएको छ। गृहमन्त्री गुरुङका अनुसार सडक अवरोध भएमा नजिकै रहेका डोजर तथा उपकरण तुरुन्त परिचालन गर्न सकिने विशेष डिजिटल एप विकास गरिएको छ।

उनले उक्त एपलाई ‘राइड सेयरिङ’ प्रणालीसँग तुलना गर्दै कुनै स्थानमा पहिरो वा अवरोधको सूचना प्राप्त हुनेबित्तिकै नजिकको उपकरण पहिचान गरी तत्काल परिचालन गर्न सकिने बताए। यसबाट सडक खुलाउने काम छिटो र प्रभावकारी हुने उनको विश्वास छ।

गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले पुर्‍याएको क्षतिबाट पाठ सिक्दै यस वर्ष थप सशक्त रूपमा प्रतिकार्य गरिने बताए। “डिजास्टरले हामीलाई जसरी दुःख दियो, यसपटक त्यसको प्रतिकार गर्ने तयारीका साथ आएको छु,” उनले भने।

उनले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको समेत जानकारी दिए। सरकार विपद्को समयमा नागरिकको सुरक्षा, उद्धार र राहतलाई केन्द्रमा राखेर काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।