आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति पौडेल साँझ जावलाखेल पुग्ने

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति पौडेल साँझ जावलाखेल पुग्ने

ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम आयोजना हुँदैछ। परम्पराअनुसार राष्ट्रप्रमुखले भोटो अवलोकन गर्ने प्रचलन रहेकाले राष्ट्रपति रामचन्द्र पाैडेल साँझ साढे ५ बजे जावलाखेल पुग्ने कार्यक्रम तय भएको छ।

जात्रा व्यवस्थापन समितिका अनुसार भोटो देखाउने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा गरिएको छ।

नेपाली परम्परा र संस्कृतिसँग जोडिएको यस पर्वमा राष्ट्रप्रमुखको उपस्थितिलाई विशेष महत्वका साथ हेरिन्छ। प्रचलनअनुसार राष्ट्रप्रमुख सहभागी हुने यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति पनि आवश्यक मानिन्छ। जात्रा व्यवस्थापन समितिका सदस्य विकासमान श्रेष्ठले भोटो देखाउने मुख्य कार्यक्रम ललितपुरको जावलाखेल चोकमा सम्पन्न हुने जानकारी दिएका छन्।

रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा पुरानो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। भोटो देखाउने कार्यक्रमसँगै यस वर्षको जात्रा औपचारिक रूपमा समापन हुने परम्परा रहेको छ।