

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित द ब्रिटिस कलेजले बेलायतस्थित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त मान्यता नवीकरण गरेको जनाएको छ। कलेजका अनुसार नेपालमा बीएसीको मान्यता निरन्तर कायम राख्न सफल हुने यो हालसम्मको एकमात्र शैक्षिक संस्था हो।
कलेजद्वारा जारी विज्ञप्तिअनुसार प्राप्त मान्यता सन् २०३० मे ३१ सम्म कायम रहनेछ। मान्यता नवीकरण प्रक्रियाका क्रममा बेलायतबाट आएको निरीक्षक टोलीले शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहायता सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो।
सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय निकायका रूपमा परिचित छ। यसको मान्यतालाई शैक्षिक गुणस्तर, पारदर्शिता, सुशासन र संस्थागत उत्कृष्टताको अन्तर्राष्ट्रिय सूचक मानिन्छ।
उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीतिक तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक सञ्चालन, शिक्षण तथा मूल्याङ्कन प्रणाली, विद्यार्थी सहयोग तथा परामर्श सेवा, भौतिक पूर्वाधार, सिकाइ स्रोतसाधन तथा गुणस्तर व्यवस्थापनसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
द ब्रिटिस कलेजका शैक्षिक प्रमुख डा. डेक्लान पी. ब्याननले पुनः प्राप्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गरेको बताए। यस उपलब्धिले विद्यार्थी र अभिभावकको विश्वास अझ सुदृढ बनाउने उनको भनाइ छ।
कलेज तथा ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय असल अभ्यासलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
बीएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले द ब्रिटिस कलेजले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनका क्षेत्रमा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पूरा गरेको बताउँदै पुनः मान्यता प्राप्त गरेकोमा बधाई दिइन्।
द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्योग क्षेत्रसँगको सहकार्य तथा विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत कलेजले आफ्नो विशिष्ट पहिचान बनाएको जनाएको छ।
कलेजले हालै केही समूहबाट फैलाइएका भ्रामक सूचना तथा संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट पुनः मान्यता प्राप्त गर्न सफल भएको दाबी गरेको छ। कलेजका अनुसार यस उपलब्धिले अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड र संस्थागत व्यवस्थापनलाई निरन्तर कायम राखेको पुष्टि गर्दछ।