चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित

चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाले चार वटा अध्यादेश स्वीकृत गरेपछि संसद् बैठक ६ दिनका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठकमा विभिन्न अध्यादेशमाथिको छलफल र निर्णय प्रक्रिया टुंग्याउँदै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।

सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू गत वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए।

शुक्रबारको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृति दिएको हो।

यसअघि सरकारले संसद् अधिवेशन नभएको समयमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लगायतका अध्यादेश पनि जारी गरेको थियो।

प्रतिनिधिसभाबाट स्वीकृत भएका चार अध्यादेशका आधारमा अब सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरी नियमित कानुनी प्रक्रियाअनुसार अघि बढाउन सक्नेछ।