

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै किसान र श्रमिकको हितमा प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत नगदेबाली उत्पादन गर्ने किसानले पनि उचित मूल्य र सुनिश्चित बजार नपाएको उल्लेख गरे। उनले यी बालीहरूको मूल्य निर्धारण तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
उनले नगदेबालीको उत्पादन बढ्दै गए पनि किसानले बजार र मूल्यको समस्या भोगिरहेको भन्दै बजार व्यवस्थापनका लागि प्रभावकारी नीति तथा कानुन आवश्यक रहेको बताए।
“चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह र समितिको तर्फबाट निर्देशन दिन चाहन्छु,” सभापति पौडेलले भने, “अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत नगदेबालीको मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ। यी बालीहरूको बजार व्यवस्थापन सुनिश्चित गर्न यही अधिवेशनभित्र आवश्यक कानुन ल्याउन पनि सरकारसँग आग्रह गर्दछु।”
चिया निर्यातमा देखिएको समस्याका कारण इलामसहित देशभरका चिया उद्योगीले विगत चार दिनदेखि उद्योग बन्द गरिरहेका छन्। यसबाट किसान, श्रमिक र चिया व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै समितिले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको हो।