प्रतिनिधिसभा बैठक आज बस्दै, आर्थिक विधेयक र विभिन्न अध्यादेशमाथि छलफल तथा निर्णय हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, आर्थिक विधेयक र विभिन्न अध्यादेशमाथि छलफल तथा निर्णय हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।

बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद नीता घतानीले दर्ता गरेको अस्वीकृतिको प्रस्तावमाथि निर्णय गरिनेछ। त्यसपछि अर्थमन्त्री वाग्लेले अध्यादेश स्वीकृतिको प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

बैठकको कार्यसूचीमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद आरन राईले दर्ता गरेको अस्वीकृतिको प्रस्तावमाथि निर्णय गर्ने विषय पनि समावेश छ। प्रस्ताव अस्वीकृत भएपछि भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सम्बन्धमा सांसद कृपाराम रानाले दर्ता गरेको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा सरकारका महत्वपूर्ण आर्थिक तथा कानुनी प्रस्तावहरूमाथि निर्णय हुने भएकाले संसद्को बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।