

काठमाडौं । प्रतिनिधिसभाको बैठक छ दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेश गत वैशाख २८ गते अधिवेशन प्रारम्भ भएकै दिन प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत गरिएका थिए।
शुक्रबारको बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृत भएका हुन्।
संसद् अधिवेशन नभएको समयमा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेको थियो। त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा केही नेपाल ऐन संशोधन अध्यादेश पनि जारी गरिएको थियो।
प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै यी चार अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको छ। अब ती विषयलाई स्थायी कानुनी रूप दिन प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरिने अपेक्षा गरिएको छ।