कक्षा १२ नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

कक्षा १२ नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डका अनुसार नियमिततर्फ कुल ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।

ग्रेडिङ प्रणालीअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ विद्यार्थी रहेका छन्। त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९, र २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ विद्यार्थी रहेका छन्।

त्यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ। आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएका छन्, जुन ४२.३८ प्रतिशत हो।

समग्रमा नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ६४.१३ प्रतिशत ग्रेडेड भएका छन्। नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी कुल ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।