

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोल अन्तरले पराजित गरेको छ। समूह ‘एल’ अन्तर्गतको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयमा आएको गोलले घानालाई महत्वपूर्ण तीन अंक दिलायो।
घानाका लागि कालेब यिरेन्कीले इन्जुरी समयको ९५औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। खेलभर दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। पहिलो हाफमा गोल गर्ने केही उत्कृष्ट अवसर सिर्जना भए पनि कुनै टोलीले त्यसलाई सदुपयोग गर्न सकेन।
दुवै टोलीका गोलकिपरले विपक्षीका खतरनाक प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै खेललाई लामो समयसम्म गोलरहित बनाएका थिए। तर अन्तिम क्षणमा कालेब यिरेन्कीले गोल गर्दै घानालाई प्रतियोगितामा विजयी सुरुआत दिलाए। यो जितसँगै घानाले समूह ‘एल’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने पानामा अंकविहीन बनेको छ।