

काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत आज भएको समूह चरणको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।अमेरिकाको डालासस्थित रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
इंग्ल्याण्डले खेलको १२औँ मिनेटमा अग्रता लिएको थियो। केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुआती बढत दिलाए। तर, ३६औँ मिनेटमा मार्टिन बाटुरीनाले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरीमा फर्काए।
पहिलो हाफ सकिनुअघि केनले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। यद्यपि, पहिलो हाफको अतिरिक्त समयमा पिटर मुसाले गोल गरेपछि क्रोएसियाले फेरि खेल बराबरी बनायो।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङहमले गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलको ८५औँ मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपेपछि इंग्ल्याण्डले ४–२ को सहज जित सुनिश्चित गर्यो। जितसँगै इंग्ल्याण्डले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ भने क्रोएसिया पहिलो खेलमै पराजित भएको छ।