काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत भएको खेलमा पोर्चुगल र डीआर कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकामा सम्पन्न खेलमा पोर्चुगलले सुरुआतमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो।
खेलको सातौँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए। सुरुदेखि नै आक्रामक देखिएको पोर्चुगलले पहिलो हाफभर खेलमा नियन्त्रण कायम राखेको थियो।
तर पहिलो हाफको इन्जुरी समयमा डीआर कंगोका योआने विस्साले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। फलस्वरूप खेल १–१ को बराबरीमा सकियो। यस बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्।