विश्वकप-२०२६: अष्ट्रियाको विजयी सुरुआत, जोर्डन ३-१ ले पराजित

विश्वकप-२०२६: अष्ट्रियाको विजयी सुरुआत, जोर्डन ३-१ ले पराजित

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा सम्पन्न खेलमा अष्ट्रियाका रोमानो श्मिड र मार्को अर्नाटोभिकले एक–एक गोल गरे भने एक गोल आत्मघाती रूपमा प्राप्त भयो।

खेलको २०औँ मिनेटमा रोमानो श्मिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५०औँ मिनेटमा जोर्डनका अली ओल्वानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

७६औँ मिनेटमा जोर्डनका याजान अल–अरबले आत्मघाती गोल गरेपछि अष्ट्रियाले पुनः अग्रता लियो। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा जोर्डनका खेलाडीको हातमा बल लागेपछि प्राप्त पेनाल्टीलाई मार्को अर्नाटोभिकले सफलतापूर्वक रूपान्तरण गर्दै अष्ट्रियाको जित सुनिश्चित गरे। जितसँगै अष्ट्रियाले समूह ‘जे’ मा ३ अंक जोडेको छ। समान ३ अंक रहेको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ भने जोर्डन र अल्जेरिया अंकविहीन छन्।

आठ पटक विश्वकप खेलिसकेको अष्ट्रियाले सन् १९५४ मा तेस्रो स्थान हासिल गरेको थियो। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएको अष्ट्रियाले २८ वर्षपछि प्रतियोगितामा पुनः उपस्थिति जनाएको हो। उता, जोर्डन भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो।