

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री डा. शशांक कोइराला विराटनगर पुगेका छन्।
आइतबार हुने छलफल तथा भेलाको तयारीका लागि उनीहरू विराटनगर पुगेका हुन्। भेलाको पूर्वसन्ध्यामा विराटनगरस्थित कोइराला निवासमा दाजुभाइ डा. शेखर र डा. शशांक कोइराला एकसाथ देखिएका छन्।
संस्थापन इतर पक्षले आयोजना गरेको उक्त भेला कांग्रेसभित्रको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, पार्टी एकता तथा आगामी महाधिवेशनको तयारीजस्ता विषयमा केन्द्रित रहने बताइएको छ।
भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइरालासहित संस्थापन इतर पक्षका अन्य प्रभावशाली नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। पार्टीभित्रको आन्तरिक विवाद र सहमतिको प्रयास जारी रहेका बेला हुन लागेको यो भेला कांग्रेसको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।