बंगालको खाडीको ‘डिप डिप्रेसन’को प्रभाव, देशभर वर्षाको सम्भावना

बंगालको खाडीको ‘डिप डिप्रेसन’को प्रभाव, देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) भारतको विशाखापट्टनम र गोपालपुरबीच, कलिङपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरी अघि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणाली सुरुमा डिप डिप्रेसनकै तीव्रतामा उत्तरपश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसै प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मधेस तथा कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति

राति देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि वर्षा

यसैबीच, आज दिउँसो तथा राति काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो र राति दुवै समयमा उपत्यकामा मध्यम वर्षाको सम्भावना ७० प्रतिशत रहेको छ। हाल काठमाडौंमा वर्षा भइरहेको छ र आज पनि वर्षाको सम्भावना उच्च रहने पूर्वानुमान छ।