काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।
मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको पनि बताएका छन्।
मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्र हो। दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ।”
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि जेठ १८ गते भारत प्रस्थान गरेको थियो।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भारतीय राजनीतिक नेतृत्वसँग नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, आर्थिक सहकार्य तथा क्षेत्रीय साझेदारीका विषयमा छलफल गरिरहेको छ।