

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू व्यक्ति पूजामा केन्द्रित भएको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिको बचाउ गर्न केही सांसदहरू देशकै विरुद्ध प्रमाण खोज्न लागेको टिप्पणी गरिन्।
ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कूटनीतिक, कानुनी तथा राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय भएको बताउँदै यसलाई सामान्य रूपमा लिन नहुने धारणा राखिन्।
उनले भनिन्, “प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइन, संस्था हो। राजकीय संस्थाबाट आएको यस्तो फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढाएको छ। यसलाई सामान्य विषय भन्दै टार्न मिल्दैन।”
सार्वजनिक पदमा रहेका व्यक्तिहरूले संवेदनशील विषयमा अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वताका साथ अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो। रास्वपातर्फ संकेत गर्दै ओलीले नेताको बचाउ गर्ने नाममा राष्ट्रिय हित कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाइन्।
“आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन्। देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम राष्ट्रवाद होइन,” उनले भनिन्।
ओलीले व्यक्ति पूजा र नेता पूजा लोकतान्त्रिक संस्कृतिका लागि खतरनाक प्रवृत्ति भएको उल्लेख गर्दै सांसदहरूलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर धारणा व्यक्त गर्न आग्रह गरिन्। “एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको पनि सम्झन सक्दैन। त्यसैले सम्पूर्ण सदनलाई यसबारे सचेत हुन आग्रह गर्छु,” उनले भनिन्।