

काठमाडौं । अघिल्लो कारोबार दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार भने सामान्य सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २७८० विन्दुमा पुगेको हो।
दिनभर बजारमा सामान्य उतारचढाव देखिएको थियो। कारोबार अवधिभर १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ५ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो। बुधबार भने निर्जीवन बीमा समूह सबैभन्दा बढी चम्किएको छ। यो समूह ३.३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ।
बजेटमार्फत तेस्रो पक्षको बीमांक रकम दोब्बर वृद्धि गरी १० लाख रुपैयाँ पुर्याइएकाले निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षासँगै यस समूहमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषण गरिएको छ।
यसैगरी जीवन बीमा समूह १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा विकास बैंक समूह ०.६६ प्रतिशतले बढेका छन्।
‘अन्य’ समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार समूह ०.२४ प्रतिशत, लगानी ०.२० प्रतिशत, जलविद्युत् ०.११ प्रतिशत, फाइनान्स १.१६ प्रतिशत तथा बैंकिङ समूह ०.१३ प्रतिशतले घटेका छन्।
बुधबार कालिन्चोक हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै एसबीएल डिबेन्चर २०८४ १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावर ७.०५ प्रतिशत तथा नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढेका छन्।
यता नेपाल पुनर्बीमा कम्पनी को सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत तथा त्रिशूली जलविद्युत् कम्पनी ३.३९ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा बुधबार आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
समग्रमा बजारमा सामान्य सुधार देखिए पनि क्षेत्रगत रूपमा निर्जीवन बीमा समूहले लगानीकर्ताको ध्यान तानेको छ।