

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा बजेटमाथिको प्रारम्भिक छलफल सुरु गर्ने कार्यसूची रहे पनि राजनीतिक विवादका कारण सदनको नियमित कार्यसूची प्रभावित हुने सम्भावना देखिएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार सभामुख डोलप्रसाद डीपी आर्याल ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु हुने अपेक्षा गरिएको छ।
तर प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने माग गर्दै आएका छन्।
विपक्षी दलहरूले अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान कायम राखेका छन्। यस विषयमा सत्तारुढ र विपक्षी दलबीच अहिलेसम्म सहमति हुन नसकेकाले आजको बैठक पनि अवरोधको चपेटामा पर्न सक्ने सम्भावना रहेको छ।
बजेटमाथिको छलफल सुरु गर्ने सरकारको तयारी र विपक्षी दलहरूको विरोधबीच आजको प्रतिनिधिसभा बैठक राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।