भारत भ्रमणमा रहेका रवि लामिछानेले आज भाजपाका शीर्ष नेतासँग भेट गर्ने

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज भाजपाका शीर्ष नेतासँग भेट गर्ने

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटघाट गर्ने भएका छन्।

उनको आजको मुख्य कार्यक्रम नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी को केन्द्रीय कार्यालयमा हुने भेटवार्ता रहेको छ। सो क्रममा उनले भाजपाका अध्यक्ष नीतिन नवीन लगायत उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार भेटवार्ता दुई देशबीचका लोकतान्त्रिक शक्तिहरूबीचको सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान, दलगत सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित हुनेछ।

रास्वपाले यस भ्रमणलाई राजनीतिक तथा कूटनीतिक संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ। लामिछानेको भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँगको भेटघाटका साथै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

लामिछाने पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ।