नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

काठमाडौं । नेपाल–भारत सीमा समस्याबारे नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतलगायत अन्य मुलुकसँग पनि संवाद गरिरहेको बताएका विषयमा भारतले प्रतिक्रिया जनाएको छ। भारतले नेपालसँगका सीमा सम्बन्धी विषयहरू द्विपक्षीय रूपमा समाधान गरिने स्पष्ट गर्दै तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा सम्बन्धी प्रश्नको जवाफ दिँदै दुई देशबीचका सीमा विवाद समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्रमार्फत काम भइरहेको जानकारी दिए।

उनले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भाग निर्धारण भइसकेको उल्लेख गर्दै बाँकी केही क्षेत्रमा गण्डक नदीको बहाव परिवर्तनका कारण समस्या देखिएको बताए। साथै सीमांकन भइसकेका क्षेत्रमा सीमापार अतिक्रमण तथा नो म्यान्स ल्यान्डको उपयोगसम्बन्धी केही विषयहरू रहेको र ती समस्याको संयुक्त रूपमा समाधान खोज्ने काम भइरहेको उनको भनाइ थियो।

प्रवक्ता जैसवालले भारत र नेपालबीच रहेका सबै द्विपक्षीय विषयहरू दुई देशबीचकै संवाद र संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पार्दै कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने बताए। यसैबीच, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय पक्षसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी पनि भारतीय विदेश मन्त्रालयले दिएको छ।