लामो अन्तरालपछि आज सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

लामो अन्तरालपछि आज सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक आज सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। एमालेको केन्द्रीय संगठन विभागले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ। कार्यशाला आज बिहान ११ बजे सुरु हुने जनाइएको छ।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा केन्द्रित उक्त कार्यशाला दुई दिनसम्म सञ्चालन हुने एमालेले जनाएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेता, प्रदेश तथा जिल्ला तहका जिम्मेवार कार्यकर्ताको सहभागिता रहने बताइएको छ। स्वास्थ्य अवस्थालगायत विभिन्न कारणले अध्यक्ष ओली गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनयता सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। लामो समयपछि उनी सार्वजनिक रूपमा देखिन लागेकाले एमाले वृत्तमा यस कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ।