

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको संसद् हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुँदा विधिवत् हाजिर गरेको वा नगरेको विषय स्पष्ट पार्न अभिलेख शाखासँग आग्रह गरे।
उनले प्रधानमन्त्रीले हाजिरी नगरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यका रूपमा उनको हैसियतसम्बन्धी प्रश्न उठ्न सक्ने दाबी गरे।
साम्पाङले भने, “प्रधानमन्त्री अस्ति संसद् आउँदा हाजिर गर्नुभयो कि भएन ? उहाँको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गर्छु। हाजिर नगरेको भए प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ। प्रतिनिधिसभा नियमावलीको नियम ७७ को उपनियम (१) ले कुनै पनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने व्यवस्था गरेको छ। उहाँ कतिपटक आउनुभयो र हाजिर गर्नुभयो, अभिलेख सार्वजनिक गरियोस्।”
प्रधानमन्त्री शाहको संसद् उपस्थितिसम्बन्धी विषयलाई लिएर पछिल्लो समय सदनमा विभिन्न दलका सांसदहरूले प्रश्न उठाउँदै आएका छन्। साम्पाङले संसद् सचिवालयलाई अभिलेख सार्वजनिक गरी तथ्य स्पष्ट पार्न आग्रह गरेका छन्।