अस्वाभाविक बजेटको प्रवृत्ति सच्याउँछौँ : अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक रूपमा ठूलो अंक राख्ने पुरानो प्रवृत्तिलाई सच्याइने बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले सरकारले साढे १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरे पनि वास्तविक खर्च क्षमता करिब १६ खर्ब रुपैयाँसम्म मात्रै रहेको बताए।
उनका अनुसार बजेट निर्माणका क्रममा यथार्थभन्दा बढी रकम समावेश गर्ने विगतदेखिको अभ्यासकै कारण कार्यान्वयनमा समस्या देखिएको हो।
अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च अत्यन्त न्यून रहेको उल्लेख गर्दै हालसम्म वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ हाराहारी मात्र पूँजीगत खर्च हुने गरेको बताए। यस्तो खर्चबाट मुलुकले लिएको विकासको लक्ष्य पूरा गर्न कठिन हुने उनको भनाइ थियो।
उनले अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको पनि बताए। यस वर्ष करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरिएको जानकारी दिँदै उनले स्रोत व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको स्वीकार गरे।
राजस्व संकलनबाट करिब १३ खर्ब रुपैयाँ मात्र धान्न सकिने अवस्था रहेको र बाँकी करिब ७ खर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले बताए। चालु आर्थिक वर्षको बजेट खर्च बढाउन सरकारले आपत्कालीन ढंगले काम गरिरहेको उल्लेख गर्दै उनले असार मसान्तसम्म पूँजीगत खर्च हालसम्मकै उच्च हुने अनुमान पनि व्यक्त गरे।


