

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (पुस ६) अधिक तरलता व्यवस्थापन गर्न बजारबाट २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले ८४ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।
निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। यसको सावाँ र ब्याज २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा सहभागी हुन सकिने न्यूनतम रकम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम रकम कुल आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म, पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी तोकिएको छ।