

काठमाडौं । नेपालमा मनसुन कमजोर रहेकाले देशभर सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित भएकाले यस्तो अवस्था बनेको हो।
हाल कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा जारी छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेष गरी बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
बिहीबार राति देशभर सामान्यतया बदली रहनेछ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।