ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) लाई भक्तपुर जिल्ला अदालतले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार बयान र थुनछेक सकेपछि उक्त आदेश जारी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार चक्रेले तोकिएको धरौटी बुझाइसकेका छन् र रिहा गर्ने प्रक्रिया चलिरहेको छ।

बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा चक्रेविरुद्ध मुद्दा दर्ता भएको थियो। एक वर्षअघि १० भदौ २०८१ मा भक्तपुरको सानोठीमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा आफ्नो भतिज मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको भन्दै काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए। जाहेरीमा चक्रे मिलनसहित अजित खवासको नाम उल्लेख थियो।

यसअघि बुधबार मात्रै काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार मुद्दामा ३० हजार रुपैयाँ धरौटीमा चक्रेलाई रिहा गरेको थियो। तर भक्तपुरमा अर्को मुद्दा बाँकी रहेकाले उनलाई त्यहाँ पठाइएको थियो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए।