

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएका उद्देश्यहरू पूरा गर्न सबै निकायलाई सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस पटकको बजेट यथार्थपरक रहेको उल्लेख गर्दै आर्थिक वृद्धि, पूँजीगत खर्च र राजस्व संकलनका लक्ष्य समयमै पूरा गर्न औसत प्रयासभन्दा बढी काम गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री पौडेलले समस्यामा अल्झिनुभन्दा समाधानतर्फ उन्मुख भई परिणाममुखी कार्यशैली अपनाउन आग्रह गरे। निजी क्षेत्रको मनोबल उच्च राख्न नीति, कार्यक्रम र अध्यादेशमार्फत वातावरण तयार पारिएको भन्दै यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याए।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आर्थिक सूचक सकारात्मक भए पनि निजी र सार्वजनिक दुवै क्षेत्रमा ‘आर्थिक आत्मविश्वास’ बढाउन जरुरी रहेको बताए। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्याजदर कम भएको अवसरमा सरकार स्वयंले निश्चित क्षेत्रमा ठूलो प्रोत्साहन (‘बिग पुस’) दिनुपर्ने धारणा राखे।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतका लक्ष्य र नतिजाबाट आत्मसमीक्षा गर्दै अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए। राजस्व सचिव दिनेशकुमार घिमिरेले समयमै तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्न र राजस्व प्रशासनमा सुधार ल्याउनुपर्नेमा जोड दिए।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आर्थिक सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए। सहभागीहरूले कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्दै अघि बढेमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे।