बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा यस्तो मौसम देखिएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी र हिमाली भू-भागमा पनि हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै रातको समयमा गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ।

महाशाखाले सम्भावित भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको उल्लेख गर्दै सबै नागरिक र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।