

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोको टोलीले भारत, बिहार घर भई हाल नेपालमा रहेका अम्मरनाथ कुमारलाई धादिङको खानीखोलाबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार कुमारले एक महिलासँग साथी बनेर कुराकानी गर्दै निजी तस्बिर र भिडियोहरू हात पारेका थिए। ती नग्न तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमा अपलोड मात्र गरेनन्, महिलाका परिवारलाई समेत नक्कली फेसबुक खातामार्फत पठाएका थिए।
साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार पीडितको उजुरीपछि अनुसन्धान सुरु गरिँदा आरोपित कुमार पक्राउमा परेका हुन्। हाल उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।