काठमाडौं २९ नं वडामा एकैदिन तीन सेवा केन्द्र सञ्चालन, उपप्रमुख डंगोलद्वारा उद्घाटन

काठमाडौं २९ नं वडामा एकैदिन तीन सेवा केन्द्र सञ्चालन, उपप्रमुख डंगोलद्वारा उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले बिहीबार एकैदिन तीनवटा नयाँ सेवा केन्द्रको उद्घाटन गरेको छ। महिला सञ्जालद्वारा आयोजित ‘स्थानीय न्याय संवाद कार्यक्रम’को अवसरमा महानगरकी उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’ सञ्चालनमा ल्याएकी हुन्।

उक्त कार्यक्रममा उपप्रमुख डंगोललाई जेनेभा, स्वीजरल्याण्डबाट ‘विश्व आर्थिक मञ्च २०२५’ का लागि चयनमा परेको उपलब्धिका लागि वडा र वडाबासीको तर्फबाट विशेष अभिनन्दन गरिएको थियो।

त्यस अवसरमा टेबलटेनिस खेलाडी इन्दिरा पौड्याल पराजुलीलाई विभिन्न प्रतियोगितामा सफलता हासिल गर्दै वडाको प्रतिष्ठा बढाएको योगदानस्वरूप सम्मान गरिएको थियो। साथै, वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा योगदान पुर्‍याएका पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेल, पूर्वजनप्रतिनिधि र स्थानीय राजनीतिक व्यक्तित्वहरूलाई पनि कदर गरिएको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भनेकी थिइन्, “यी केन्द्रमार्फत नागरिकले सरकारी कार्यालयमा सेवा लिन गएको अनुभूति पाउनेछन्।” उनले मेलमिलाप केन्द्र र महिला सञ्जाल स्थापनाको लक्ष्यसहित पदवहाली गरेपछि सुरु गरिएको पहल अहिले सबै वडामा प्रभावकारी ढंगले सञ्चालन भइरहेको बताइन्।

उनले थप भनिन्, “यी संयन्त्रहरू महिलाको नेतृत्वमा सञ्चालन भए पनि तिनको उद्देश्य सबैप्रति न्याय दिनु हो। महिलामाथिको हिंसाका मात्र होइन, पुरुष पीडितको मुद्दाको पनि सुनुवाइ हुने छ।”

त्यसैगरी वडा नं. २९ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य कुश ढकालले जनताको समस्या उनीहरुकै स्थानमा समाधान गर्नु नै लोकतन्त्रको मर्म भएको बताए।

महिला सञ्जाल संयोजक रेणु श्रेष्ठका अनुसार २०७९ साल कार्तिक १३ मा सञ्जाल गठन भए यता ९१ वटा विवाद दर्ता भएका छन्, जसमध्ये ८८ प्रतिशत मेलमिलापमार्फत समाधान गरिएका छन्।