

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। अन्य प्रदेशहरूका एक–दुई स्थानमा पनि यस्तै अवस्था देखिने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहनेछ। साथै, हिमाली भू–भागमा हल्का वर्षा र हिमपात र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहने बताइएको छ।