Skip to content

तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, राति कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

उपत्यका र खोँचका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आइतबार बिहान पनि उपत्यका, खोँच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय