

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । आईसीसीका अनुसार इन्डोनेसियाको बालीमा बसेको बोर्ड तथा समितिका बैठकमा आईसीसी निर्देशकहरूले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
आईसीसी बोर्डले शाहको नेतृत्वप्रति विश्वास कायम रहेको जनाउँदै दोस्रो कार्यकालले क्रिकेटको भविष्यका लागि अघि सारिएका योजनालाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । दोस्रो कार्यकालका लागि चयन भएपछि शाहले आफूलाई विश्वास गरेकोमा आईसीसी बोर्डका सबै निर्देशकप्रति आभार व्यक्त गरेका छन् ।
‘आईसीसी बोर्डले ममाथि देखाएको विश्वासबाट सम्मानित महसुस गरेको छु । निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु,’ उनले भनेका छन् । उनले आईसीसी अध्यक्षका रूपमा काम गर्नु आफ्ना लागि सम्मानसँगै ठूलो जिम्मेवारी पनि भएको बताएका छन् । ३८ वर्षीय शाह यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव थिए । उनले सन् २०२४ डिसेम्बरमा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।