देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन गर्न देउवा धनगढी जाने

देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन गर्न देउवा धनगढी जाने

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आयोजना गर्ने सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

मंसिर १५ गतेदेखि सुरु हुने दुईदिने प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् ।

प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

यसअघि शनिबार सभापति बलायरले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी दिएका थिए । उनका अनुसार मंसिर १५ गते बिहान ११ बजे उद्घाटन समारोह सुरु हुनेछ ।

विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न भइसकेको उल्लेख छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।