गृहमन्त्रीले भेटे यूएईका मन्त्री, जलविद्युत्, कृषि र सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव

गृहमन्त्रीले भेटे यूएईका मन्त्री, जलविद्युत्, कृषि र सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन् ।

शनिबार भएको भेटमा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन् ।

भेटका क्रममा नेपालले बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेको थियो ।

त्यस्तै, फेसलेस पोलिसिङ, गैरघातक सुरक्षा उपकरणको उत्पादन, सुरक्षा निकायको आधुनिकीकरण तथा प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत छलफल भएको गुरुङले बताएका छन् ।

नेपालले प्रस्ताव गरेका परियोजनामा सहकार्य गर्न यूएईका मन्त्री डा. थानीले सकारात्मक तत्परता देखाएको गृहमन्त्री गुरुङको भनाइ छ ।

भेटले नेपाल र यूएईबीच आर्थिक, लगानी तथा सुरक्षा प्रविधिसम्बन्धी सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ ।