

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालको निराशाजनक प्रदर्शन जारी रहेको छ। प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग ७ विकेटले पराजित भएको छ। यसअघि पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।
नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। यूएईको जितमा कप्तान अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट पारी खेले। ययिन किरण रायले ३२ तथा अहमद खुददादले २४ रनको योगदान दिए।
नेपालका तर्फबाट सुशील रावल, नितेश पटेल र विपिन शर्माले समान एक–एक विकेट लिए। त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। उनले ७१ बलको सामना गर्दै तीन चौका प्रहार गरे। सचिन भट्टले ५५ बलमा ३२ रन जोडे। त्यस्तै दर्श सोनारले २२ बलमा १६, निरजकुमार यादवले २० बलमा १६ र आशिष लुहारले १३ बलमा ११ रन बनाए। निश्चल क्षेत्रीले ९, शुभम खनालले ९ तथा कप्तान विपिन शर्माले अविजित ९ रनको योगदान दिए।
नितेश पटेलले पाँच र सुशील रावलले दुई रन बनाउँदा प्रसिद्ध जैसी खाता नै नखोली आउट भए।
ब्याटिङमा नेपालको सुरुवात कमजोर रह्यो। निरजकुमार यादव १८ रनको अवस्थामा पहिलो विकेटका रूपमा आउट भए। त्यसपछि प्रसिद्ध जैसी र निश्चल क्षेत्री पनि छिट्टै पेभेलियन फर्किएपछि नेपाल ३६ रनमै तीन विकेट गुमाएर दबाबमा परेको थियो।
सोहेल कुँवर र दर्श सोनारले पारी सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नियमित अन्तरालमा विकेट गुमाउँदा नेपाल ठूलो योगफल बनाउन असफल भयो। यूएईका नसीम खानले उत्कृष्ट बलिङ गर्दै आठ ओभरमा ४३ रन खर्चेर पाँच विकेट लिए। कप्तान अयान मिस्बाहले १० ओभरमा २२ रन दिँदै तीन विकेट हात पारे भने नुरुल्लाह अयोबीले दुई विकेट लिए।
लगातार दुई खेलमा पराजित भएपछि नेपालको यू–१९ एसिया कप यात्रा कठिन बनेको छ।