लगातार चौथो हारपछि पोखराको प्लेअफ यात्रा संकटमा, चितवन तेस्रो स्थानमा उक्लियो

लगातार चौथो हारपछि पोखराको प्लेअफ यात्रा संकटमा, चितवन तेस्रो स्थानमा उक्लियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार बेहोरेपछि पोखरा एभेन्जर्सको प्लेअफ यात्रा कठिन बनेको छ। शुक्रबार भएको खेलमा चितवन राइनोजसँग ३० रनले पराजित भएपछि पोखराको प्लेअफ सम्भावना थप कमजोर बनेको हो।

पोखराले अब बाँकी तीन खेल जिते पनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ। पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट, दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग नौ रन र तेस्रो खेलमा लुम्बिनी लायन्ससँग आठ विकेटको हार बेहोरेको थियो।

पोखरालाई पराजित गरेसँगै चितवन राइनोज भने अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको चितवनले दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै पाँच अंक जोडेको छ। चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ रनले हराएको थियो भने दोस्रो खेलमा वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो।

अर्जुन कुमालको संघर्षपूर्ण ४५ रन पनि पोखरालाई जिताउन पर्याप्त भएन चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा २० रन बनाउँदा रन्जित कुमारको बलमा अम्पायरले एलबीडब्लू आउट दिएका थिए। तर, डीआरएसमार्फत उक्त निर्णय उल्टिएपछि उनले ब्याटिङलाई निरन्तरता दिएका थिए। अन्ततः उनी १८औँ ओभरमा कमल ऐरीको बलमा क्याच आउट भए।

युवराज शर्माले १९ र किरण ठगुन्नाले १३ रन बनाए। अर्जुन घर्तीले १२ तथा मेहदी हसनले सात रन जोडे। कुशल भुर्तेल र सदीरा समरविक्रमले समान चार रन बनाए भने कप्तान चमिका करुणारत्ने दुई रनमा आउट भए। पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले चार ओभरमा २४ रन खर्चिए। कमल ऐरीले तीन विकेट हात पार्दा डान मुस्ली, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।

चितवनको ब्याटिङमा रजा र बोपाराको महत्वपूर्ण साझेदारी

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। चितवनका ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। २७ बलमा दुई चौका र एक छक्कासहित ३१ रन बनाएका अर्जुन विपिन खत्रीको बलमा एलबीडब्लू आउट भए।

डेविड मलानले २८ बलमा तीन चौकासहित २८ रन बनाए। उनी कुशल भुर्तेलको बलमा बोल्ड भए। कुशल मल्लले ११ र डान मुस्लीले दुई रन जोडे। पाँचौँ विकेटका लागि रवि बोपारा र कप्तान सिकन्दर रजाले ६० रनको महत्वपूर्ण साझेदारी गरे। बोपाराले २८ बलमा तीन चौका र एक छक्कासहित ३५ रन बनाए। उनी चमिका करुणारत्नेको बलमा विपिन खत्रीबाट क्याच आउट भए।

त्यस्तै, रजाले १६ बलमा दुई चौका र चार छक्काको मद्दतमा ३७ रन बनाए। उनी पनि करुणारत्नेको बलमा क्याच आउट भए। कमल ऐरी चार रनमा अविजित रहे।

पोखराका लागि चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए। यसअघि शुक्रबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो। जितसँगै सुदूरपश्चिम छैटौँ स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ। एनपीएलअन्तर्गत शनिबार एक खेल मात्रै हुनेछ। अंक तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।